काठमाडौँ।आठ दलीय गठबन्धनले आजदेखि राष्ट्रपति निर्वाचन लक्षित प्रदेशस्तरीय अभिमुखीकरण (प्रशिक्षण) कार्यक्रम सुरु गर्दै छन् ।
गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् । आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
पौडेललाई विजयी गराउन भन्दै गठबन्धनका नेताहरुले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य ७ राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरेका छन् ।