काठमाडौं । सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ । बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीमाथि थियो । उक्त आरोपमा उनी दोषी ठहर भएको उनले बताए ।
यस्तै प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदीप तिमल्सिनाले पनि सैनिक ऐन विपरीतको कार्य गरेको भन्दै सामान्य सजाय तोकिएको उनले बताए । सामान्य सजाय कस्तो खालको हो भन्नेबारे उनले प्रष्ट्याएनन् । शाहीले कसरी आर्थिक अनियमितता गरेको र सैनिक ऐन विपरीतको काम गरेको भन्ने सेनाले खुलाएको छैन ।
सेनाले उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमितता लगायत विषयमा छानबिन गर्ने भन्दै पुस १९ गते नियन्त्रणमा लिएको थियो ।
आरोप लागेसँगै जंगीअड्डाले बोर्ड अफ इन्क्वाइरी गठन गरेको थियो । उक्त बोर्डले पनि थप कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव पेश गरेपछि सेनाले सैनिक अदालत गठन गरेको प्रवक्ता भण्डारीले बताए ।
उमेर हदका कारण गत पुस २० गते बुधबार उपरथी शाहीको अवकाश हुने थियो तर उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चले पनि उनको पक्षमा आदेश दिँदै पदावधि बाँकी नै रहेको जनाएको थियो । सर्वोच्चको आदेश लिएर जंगीअड्डा पुगेका उनलाई नियन्त्रणमा लिइएको थियो । यही अनुसन्धानबीच शाह र तिमल्सिनामाथि पनि अनुसन्धान गर्न सेनाले नियन्त्रणमा लिएको थियो । file photo