काठमाडौं । इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको कार्यसमितिको बैठकले ३८ वर्षीय एनेसेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएयता राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो ।
गत भदौ र कात्तिकमा भएका बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने एन्फाले प्रदीप हुमागाई र प्रवेश कटुवाललाई क्रमशः कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो ।
एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । जसमा १ सय ६८ जनाको आवेदन परेको उल्लेख गर्दै एन्फाले त्यसमध्ये २० जनालाई अन्तिम सुचीमा राखिएको थियो ।
त्यसमध्येबाट युइएफए प्रो लाइसेन्स प्राप्त एनेसेलाई नियुक्त गरेको एन्फाले आफ्नो वेबसाइटमार्फत जानकारी दियो । एनेसेले हिजो दशरथ रंगशालामा मछिन्द्र र सातदोबाटोबीच केपी ओली कपको फाइनल हेरेका थिए ।