• जेष्ठ ९ २०८३, शनिबार

नेपाली सेनाका अधिकृत शाह र तिम्सिनालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएका दुईजना सेनाकै अधिकृतलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश गरेको छ । उपरथी प्रेमप्रकाश शाहीलाई सघाएको आरोपमा सेनाले प्राड विभागमा कार्यरत महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई नियन्त्रणमा राखेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलले दुई सैनिक अधिकृत सहित उपस्थित हुन सेनालाई आदेश गरेको छ । सर्वोच्चले उनीहरूलाई नियन्त्रणमा लिएको बारे ‘कारण देखाऊ आदेश’ पनि जारी गरेको छ ।

महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनाका सैनिक अनुशासन विपरीत आचरण देखाएको हुनाले सोधपुछ भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदिप तिम्सिनाले कानुन व्यवसायीमार्फत् प्रधान सेनापतिलाई विपक्षी बनाएर रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।

उपरथी प्रेमप्रकाश शाही अहिले सैनिक प्रहरी गणको हिरासतमा छन् । सर्वोच्च अदालतको आदेश अनुसार पुस १९ मा जंगी अड्डामा हाजिर हुन पुगेका शाहीलाई प्रधान सेनापति प्रभुराम शर्माले थुनामा राख्न आदेश गरेका हुन् ।

निरीक्षण अधिकृत विभागमा कार्यरत शाहीलाई जंगी अड्डाले ५७ वर्ष उमेरहद पुरा भएको कारण देखाएर अवकाश पत्र दिएको थियो । जंगीअड्डाले पुस ४ मा ‘अवकाश पत्र’ दिएपछि सो निणर्य विरुद्ध उनी अदालत गए । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले उनलाई दिएको ‘अवकाश पत्र’ कार्यान्वयन नगर्न आदेश गरेका छन् । २०७९ पुस १३ मा अदालतको आदेशपछि उनी हाजिर हुन गएका हुन् ।

उमेर विवादबारे सर्वोच्चले आदेश गरेपछि हाजिर हुन जाँदा शाहीलाई प्रधानसेनापति प्रभुराम शर्माले ‘बदला’ लिन हिरासतमा राखेको आरोप छ तर, सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्,‘अलि पहिलेदेखि नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जंगी अड्डामै राखिएको छ ।’