काठमाडौं । एक नम्बर प्रदेशसभाको आजको बैठकमा प्रदेश–१ को नाम प्रस्ताव गरिने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नामाकरणमा विवाद आउने देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
यसका लागि प्रदेशसभा सचिवालय आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सचिवालयदेखि पूर्वपट्टिको देवकोटा चोक र पश्चिममा अस्पताल चोकबाट सवारी आउजाउमा रोक लगाइएको छ । प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्ने वा भूगोलका आधारमा भन्ने विषयमा दलहरू विभाजित छन् ।
सोही कारण सम्भावित प्रदर्शन र विरोध रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यका सवारीसाधन बाहिरै पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।