• बैशाख २८ २०८३, सोमबार

८ दलीय गठबन्धनको बैठक : उपत्यका बाहिर रहेका सांसदहरुलाई काठमाडौं आउन निर्देशन

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि उपत्यका बाहिर रहेका सबै सांसदहरुलाई काठमाडौं आउन निर्देशन गरिएको छ । उम्मेदवारी मनोनयनको लागि अघिल्लो दिन बनेको आठ दलीय गठबन्धनको आइतबारको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ आउन निर्देशन दिएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निणर्य भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकले आठ दलका एक-एक जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निणर्य पनि गरेको छ । बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निणर्य गरेको छ ।

ती कार्यक्रममा गठबन्धन दलका नेताहरू सहभागी हुनेछन् । बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गते सम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौँमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन भनिने नेता श्रेष्ठले जानकारी दिए ।

ब्रिफिङमा सांसदहरूलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा छरिएको अस्थिरता बारेको भ्रम हटाउन प्रयास गर्ने गठबन्धनले पहल गर्नेछ । साथै बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।