काठमाडौं । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् । आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुईतिहाइ बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताए ।
उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने जानकारी दिए । त्यस्तै, नेकपा एसका नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उमेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको भनाइ छ ।
साक्षात्कारमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दा पनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको तथा अहिलको नयाँ गठबन्धन देशको हितमा रहेको बताए ।