काठमाडौं । बलात्कार अभियोग लागेकमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै सरकारी वकीलले बहस गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका छन् । उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने समेत बताएका छन् । सन्दीपलाई थुनामै राखेर मुद्दा चलाइनुपर्ने सरकारी वकीलले तर्क गरेका छन् ।
इजलासले भने पीडितले किटानी जाहेरी दिएको र सन्दीपले आरोप अस्वीकार गरेको अवस्थामा के आधारमा निर्णय गर्ने भनेर प्रश्न सोधेको थियो ।
सरकारी पक्षले परिस्थितिजन्य प्रमाण हेर्नुपर्ने जवाफ दिएका थिए । सन्दीपले नाबालिग किशोरीलाई नगरकोट घुमाउन लगेको, छिटो फर्किन आग्रह गर्दा नमानेको, होटलमा एउटै कोठा मात्र बुक गरेको जस्ता घटनाले उनको नियत प्रष्ट हुने उनीहरुको तर्क छ ।
आइतबार नै सरकारी पक्षबाट वकालत गरेका कानुन व्यवसायीहरुले पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश गलत भएको र त्यसले पीडितलाई झन् पीडामा पारेको बताएका छन् ।