काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दिएको निवेदनमाथि पीडित पक्षका सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका छन् ।
उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलले दिएको पुनरावलोकन निवेदनको संयुक्त सुनुवाइअन्तर्गत पीडित पक्षका सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका छन्।
सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनका सन्दर्भमा सरकारी वकिलको तर्फबाट २ जना र सन्दीपबाट पीडित भनिएकी किशोरीको तर्फबाट १ जना गरी ३ जनाले बहस गरेका छन्।
पीडित तथा सरकारी पक्षको बहसपछि सन्दीपका कानुन व्यवसायीले बहस गर्नेछन्। सन्दीपका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापासहित कानुन व्यवसायीले वकालतनामा पेस गरेका छन्।
नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।