काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्ने बताएका छन् ।
आज (आइतबार) बिहान जनयुद्धका शहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय शहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, ‘उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका शहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका सहिदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’
अन्तरक्रियामा शहिद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका शहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।