• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति चुनावमा सहयोग गर्न ओलीले गरेको प्रस्ताव नेपालद्वारा अस्वीकार

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीलाई गरेको प्रस्ताव सो पार्टीले अस्वीकार गरेको छ ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर आज पत्राचार गरेका थिए । तर सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीको प्रस्तावलाई स्वीकार गर्ने स्थिति नरहेको बताएका हुन् ।

यद्यपि ओलीको प्रस्तावले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको उनको भनाइ छ । ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नुभएको छ । यसको लागि धन्यवाद’, उनले भनेका छन्, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डा अनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

ओलीले नेम्वाङको पक्षमा मत माग्दै कांग्रेसबाहेक सबै पार्टीलाई पत्राचार गरेका थिए । यद्यपि कुनै दलले पनि हालसम्म सकारात्मक जवाफ फर्काएका छैनन् ।