• बैशाख २८ २०८३, सोमबार

वनभोजमा गएकी जसपाकी सांसद सहनाज रहमानको निधन

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का सांसद सहनाज रहमानको वनभोजमा जाँदा निधन भएको छ । उनको आज (शनिबार) हृदयघातका कारण निधन भएको जनाइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– ३ घ्याम्पेडाँडामा वनभोज मनाउन गएकी रहमानको हृदयघात भएको जनाइएको छ ।

आज जसपा नेपाल गैर (भौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको ‘होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रम’ राखेको थियो ।

भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासि ढलेर बेहोस भएकी थिइन् । उनलाइ तत्काल उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकाको थियो ।

तर अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन् । सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पुर्याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।