• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपतिका लागि दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । संसद्/संविधान सभाको नेतृत्व गरिसकेका दुई नेताबीच राष्ट्रपतिको लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ। नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवास नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेस र एमालेको शनिबार बिहान बसेको क्रमशः कार्य सम्पादन समिति र सचिवालय बैठकले पौडेल र नेम्वाङलाई आ-आफ्नो पार्टीको उम्मेदवारको रुपमा चयन गरेको थियो। पौडेललाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने आठ दलको समर्थन छ।

त्यस्तै, नेम्वाङको पक्षमा भने अहिलेसम्म एमालेबाहेक अरु दल खुलेका छैनन्। यी दुवै दलले आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान पनि गर्दैछन्।

शनिबार दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। निर्धारित समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको हो।

जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाको नेतृत्व गरिसकेका पौडेल र नेम्वाङबीचको प्रतिस्पर्धा भने नेपाली राजनीतिको सबैभन्दा माथिल्लो पदमा विराजमान हुनका लागि हो। नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरेको छ। उसले राष्ट्रिय एकताको प्रवर्धन गर्ने र संविधानको पालना र संरक्षण गर्नु प्रमुख कर्तव्य हुने भनिएको छ।