काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निणर्यसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् ।
बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै दाहालले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालको प्रस्तावमा आठवटै दलले सहमति जनाएका थिए । बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बैठकमा एकमात्र एउटा एजेण्डा रहेको र त्यसमा राष्ट्रपतिमा संसदको ठुलो दल कांग्रेसलाई समर्थन गरौँ भनेर प्रस्ताव ल्याएको बताए ।
‘प्रधानमन्त्रीको त्यो प्रस्तावमा आठवटै दलले समर्थन गर्ने, सहयोग गर्ने टुंगो लागेको छ’, नेता ज्वालाले भने, ‘व्यक्तिका हकमा कांग्रेसले निणर्य गर्छ ।’
त्यसक्रममा प्रधानमन्त्री दाहालले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउन, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई आग्रह गरेको ज्वालाले जानकारी दिए ।