• बैशाख २८ २०८३, सोमबार

कांग्रेस, एमाले र माओवादीको रोजाइमा पर्लान् माधव नेपाल ?

फाल्गुन ९ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दलका शीर्ष नेताहरू आपसी भेटवार्ता र सघन छलफलमा जुटेका छन् । पूर्वसहमति बेगर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि दलका नेताहरू भेटवार्ता र छलफलमा जुटेका हुन् ।

गत पुष १० मा एमाले–माओवादी सत्ता गठबन्धन हुँदा भएको सहमतिअनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो । उसको भागमा राष्ट्रपति परेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको बखेडा झिकेपछि एमाले विकल्पको खोजीमा छ ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको चट्टानी अडान राखेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी पेस गरेको छ । कांग्रेसको दाबीलाई एमालेले अस्वभाविक मान्दै आएको छ । तर, पनि कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार अनिवार्य खडा गर्ने बताउँदै आएको छ ।

कांग्रेसले उम्मेदवार खडा गर्न आन्तरिक गृहकार्यको थालनी गरिसकेको महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । उनी मुसुक्क मुस्कुराउँदै भन्छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको दैलो उघारेपछि त्यहीँ दैलो भएर कांग्रेस राष्ट्रपतिको पदमा पुग्न सक्छ । त्यसका लागि पार्टीले गम्भीरतापूर्वक छलफल गर्छ र उम्मेदवार अगाडि सार्छ ।’

‘हाम्रो बटम लाइन राष्ट्रिय सहमति नै हो । राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुन्छ । सत्ता र प्रतिपक्षी दलले चाहेर एकल उम्मेदवार खडा गर्ने स्थिति छैन । संसदमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिँदा प्रतिपक्षी कांग्रेस लगायतका अन्य दलले पनि मत दिएका छन् । यसको कदर गर्दै हामी राष्ट्रिय सहमति बिना राष्ट्रपतिमा कसैलाई समर्थन गर्दैनौँ भन्छन्,’ –माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ।

पुष २६ मा प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षी दलहरूबाट विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएका छन् भने माओवादी केन्द्रले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विकल्प खोजेको देखिँदैन ।

राष्ट्रिय सहमतिबाट प्रचण्ड एक इञ्च तलमाथि नभएपछि नेकपा (एमाले)ले माधवकुमार नेपाललाई अगाडि सारेको छ । उसले नेपाललाई अगाडि सारेपछि कांग्रेस, माओवादी केन्द्रले समर्थन गर्न सक्छ ? भन्ने प्रश्नमा नेताहरूको भनाइमा एकमत देखिँदैन ।

सत्ता साझेदार दल नेकपा (एमाले)का महासतिव शंकर पोखरेल भन्छन्, ‘पुष १० मा सत्ता गठबन्धन हुँदा भएको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीज्यू पछि हट्नुभयो । उहाँ राष्ट्रपतिमा राष्ट्रिय सहमतिबाट रत्तिभर पछाडि हट्ने स्थिति देखिएन । हामी विकल्प खोज्न बाध्य भएका छौँ । वाम गठबन्धनको सरकार सकभर फेरबदल नहोस् भन्नका लागि हामी प्रयासरत छौँ । यसमा माओवादी केन्द्र पनि सिरियस हुन जरुरी छ । हाम्रो सत्ता गठबन्धन भएयता प्रदेशदेखि केन्द्रसम्म एकखाले सरकारको मोडालिटी छ । भोलि फेरि फेरबदल गर्नुपर्ने अवस्था आउँन सक्छ । त्यसबाट जोगिनु पनि हाम्रो दायित्व हो । तर, मूल कुरा राष्ट्रपतिमा राष्ट्रिय सहमति भए पनि वाम गबन्धनबाटै हुनुपर्छ, हुन्छ ।’

पोखरेल थप्छन्, ‘यसका लागि हामीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अगाडि सार्ने की भन्ने पार्टीभित्र सामान्य छलफल भएको हो । तर, औपचारिक रूपमै छलफल भएको छैन । यदि सहमति भए माधव कमरेडलाई अगाडि सार्न सकिन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासतिव गगनकुमार थापाले राष्ट्रपतिमा राष्ट्रिय सहमति स्वागत योग्य भएको बताउँछन् । गोल खबरसँगको संक्षिप्त सम्वादमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले अगाडि सार्नु भएको राष्ट्रिय सहमति कांग्रेसका लागि स्वागत योग्य छ । तर, राष्ट्रिय सहमतिको नाममा एमाले, एकीकृत समाजवादी वा अन्य कुनै दलको उम्मेदवारलाई हामी समर्थन गर्दैनौँ । राष्ट्रपतिको उम्मेदवारका लागि कांग्रेस तयार छ । यो देशको संविधान, कानुन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि कांग्रेस कटिबद्ध छ । यसर्थ राष्ट्रपतिमा राष्ट्रिय सहमति कांग्रेसकै उम्मेदवारमा सहमति जुट्छ ।’

‘हामी राष्ट्रिय सहमतिको अर्को विकल्प खोज्दैनौँ । यदि राष्ट्रपतिमा राष्ट्रिय सहमति जुट्छ, सबै दलले समर्थन गर्छन् भने हाम्रो पार्टीले नगर्ने भन्ने हुँदैहुँदैन । हामी समर्थन गर्छौँ । त्यो चाहे एमालेको होस्, चाहे कांग्रेस, एकीकृत समाजवादी वा अन्य कुनै दलबाट किन नहोस् । हामी समर्थन गर्छौँ । तर, राष्ट्रिय सहमति बेगर कोहीँ कसैले उम्मेदवार खडा गर्छ भने त्यसमा हामीले कदापि स्वीकार्दैनौँ । तथापि संविधान र वर्तमान व्यवस्थाको बर्खिलाप गर्नेलाई पनि हाम्रो पार्टीले समर्थन नगर्न सक्छ भन्छन्, प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका उपाध्यक्ष मातृका प्रसाद यादव ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा माओवादी केन्द्रले समर्थन गर्छ ? भनेर हामीले थप प्रश्न गरेका थियौँ । जवाफमा उनी भन्छन्, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेको माधव नेपाल कमरेडलाई समर्थन गर्नु होइन । सबै दलले सहमति जनाउँछन् भने माओवादी केन्द्रले समर्थन गर्नेमा दुईमत छैन ।’

तपाईंहरूले अगाडि सारेको सम्भावित राष्ट्रपति झलनाथ खनाल होइनन् र ? प्रश्नको जवाफ दिँदै एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल भन्छन्, पक्कै पनि राष्ट्रपतिमा हाम्रो पार्टीका सम्मानित नेता झलनाथ खनाल कमरेडको नाम चर्चामा छ । यद्यपि बदलिँदो राजनीतिक अवस्थाबाट विमुख हुन नसक्नु राजनीतिको अर्को आयाम हो । तर, समय र परिस्थितिले अध्यक्ष कमरेड नै राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्न सक्नुहुन्छ । यस विषयमा हामीले हालसम्म पार्टीमा कुनै औपचारिक निर्णय गरेका छैनौँ । तर, सञ्चारमाध्यमले अध्यक्ष माधव कमरेडको नाम चर्चा ल्यायो । राजनीतिमा यो नौँलो विषय भने होइन । समय छ, हेर्दै जाऊँ ।

प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति पर्ख र हेरको नीति लिएको देखिन्छ । उपमहासचिव पौडेलको अभिव्यक्तिबाट पनि थप पुष्टि हुन्छ ।

सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूको भनाइलाई आधार मान्ने हो भने माधवकुमार नेपालको पक्षमा राष्ट्रिय सहमति जुट्ने सक्ने सम्भावना न्यून छ । तर, देशको तरल राजनीति कता ढल्किन्छ यसै भन्न सकिँदैन । यद्यपि राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले विकल्प खोजेका छैनन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन उप्रान्त २१ दिन बाँकी छ । भावी राष्ट्रपतिको निर्वाचनका लागि मनोनय दर्ता यहीँ महिनाको १३ गते हुनेछ भने निर्वाचन २५ गते हुने निर्वाच आयोगले बताएको छ ।

लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति भएमा आफ्नो दलबाट उम्मेदवार मनोनयन दर्ता गराउने बताउँदै आएको छ । उसले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्ने भएको छ । अध्यक्ष ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत दलका शीर्ष नेताहरूसँग भेटवार्तालाई तीव्रता दिएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपतिमा आकांक्षा देखाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सहमतिको आधारमा आफूलाई उपराष्ट्रपतिमा समर्थन गर्न दलहरुसँग आन्तरिक छलफलमा रहेको स्रोत बताउँछ ।