विराटनगर । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनारको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो ।
सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यी बाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो ।
आइतबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।