• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपतिका लागि छलफल गर्न दाहाल र देउवाबीच भेट

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र देउवाबीच छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा देउवा र दाहालबीच निणर्ायक छलफल भइरहेको छ ।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

पुस १०मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ ।