–‘हामी राष्ट्रपतिको उम्मेदवार उठाउँछौँ, त्यसमा सबैको सहमति हुनुपर्छ । माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै हुँदैन ।’ एमाले अध्यक्ष –केपी शर्मा ओली
–‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्छ, त्यसमा कुनै शंका छैन ।’ कांग्रेस महामन्त्री –विश्वप्रकाश शर्मा
–‘राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुन्छ । त्यसका लागि दलहरूले आ–आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । यद्यपि सबैको सहमति बिना राष्ट्रपति एक्लै बन्न सक्दैन । यदि यसो नभए सत्ता समीकरण धर्मराउने भन्ने हुँदैन । तर, राष्ट्रपतिको निर्वाचन पश्चात् यसै भन्न सकिँदैन ।’ माओवादी केन्द्र महासचिव –देवप्रसाद गुरुङ
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूबीच आपसी छलफलले तीव्रता पाएको छ । उनीहरू आन्तरिक गृहकार्यमा तल्लीन छन् । तथापि हालसम्म कुनै पनि दलले राष्ट्रपतिको आधिकारिक उम्मेदवार घोषणा भने गरेका छैनन् ।
सञ्चार माध्यममा शीर्ष दलका केही नेताको नाम सार्वजनिक भए पनि उनीहरूले सार्वजनिक गरेको देखिँदैन । किनकि हालसम्म कुन दलले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयले नै प्रवेश पाएको छैन ।
राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्ता साझेदार दल नेकपा (एमाले)बाट सुवास नेम्वाङको नाम चर्चामा छ । तर, चर्चामा आएका यी नाम उल्लेखित दुवै दलले टुंग्याएका छैनन् ।
तथापि राष्ट्रपतिको दाबी गर्ने कांग्रेस र एमालेका शीर्ष नेताहरू सरकारी एवं विभिन्न सार्वजनिक कार्यक्रममा आ–आफ्नै कन्फिडेन्टका साथ अभिव्यक्ति दिइरहेका छन् । कांग्रेस र एमालेका नेता खुलेरै आफूले उठाएका उम्मेदवारले राष्ट्रपति जित्नेमा ढुक्क देखिन्छ ।
आज (आइतबार) विराटनरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चाकर्मीसँग बोल्दै निर्धक्क भएर आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपतिमा विजयी हुने बताए । उनले भने, ‘हामी राष्ट्रपतिको उम्मेदवार उठाउँछौँ, त्यसमा सबैको सहमति हुनुपर्छ । माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै हुँदैन ।’
उनको यो अभिव्यक्तिले राष्ट्रपतिमा एमाले उम्मेदवार विजयी हुने ढुक्कै देखिन्छ । ओली बाहेक एमालेका अन्य शीर्ष नेताले पनि राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित हुनेमा ढुक्कै देखिन्छन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि राष्ट्रपति आफूले पाउनेमा निर्धक्क देखिन्छ । पार्टीका नेताहरूले दिने अभिव्यक्तिमा नै कन्फिडेन्ट छ । उनीहरू देशका विभिन्न स्थानमा हुने पार्टीको सार्वजनिक कार्यक्रममै खुलेआम राष्ट्रपति कांग्रेसले जित्नेमा ढुक्क छन् ।
‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्छ, त्यसमा कुनै शङ्का छैन’ भन्छन् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा । आज सुर्खेतमा कांग्रेस निकट प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
उनले भने, ‘राष्ट्रपति कांग्रेसबाट निर्वाचित हुने कुरामा दुविधा नमान्न आग्रह समेत गरेका छन् । राष्ट्रपतिमा कांग्रेसले बाजी मार्छ, यसमा शंका छैन । दलहरूले हामीलाई समर्थन गर्ने कुरामा हामी विश्वस्त छौँ । यसर्थ हाम्रो पार्टीको उम्मेदवार निर्वाचित हुन्छ । र, राष्ट्रपति बन्छ ।’
यता प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले गत पुष १० मा सत्ता समीकरण हुँदा भएको सहमति कार्यान्वयन नगर्ने पक्का छ । पूर्वसहमति अनुसार राष्ट्रपति एमालेले पाउने भनिए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अड्को थापेपछि एमाले सकटमा परेको छ ।
उसले यसंकट मोचनका लागि हालसम्म कुनै उपाय अवलम्बन गर्न सकेको छैन । राष्ट्रपति नपाए माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडिन सक्ने एमालेको चेतावनी छ । तर, उसको चेतावनीले माओवादी केन्द्र रत्तिभर डगमगाएको देखिँदैन । बरू उसले राष्ट्रिय सहमतिको रडान छोडेको छैन ।
माओवादी केन्द्रका महासचिव गुरुङले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुन्छ । त्यसका लागि दलहरूले आ–आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । यद्यपि सबैको सहमति बिना राष्ट्रपति एक्लै बन्न सक्दैन । यदि यसो नभए सत्ता समीकरण धर्मराउने भन्ने हुँदैन । तर, राष्ट्रपतिको निर्वाचन पश्चात् यसै भन्न नसकिने बताएका छन् ।
महासतिवको भनाइलाई आधार मान्ने नै हो भने माओवादी केन्द्रले सत्ता साझेदार दल एमालेलाई राष्ट्रपतिमा सघाउने सम्भावना न्यून छ । किनकि पार्टीका शीर्ष तहका नेताहरू नै राष्ट्रपति राष्ट्रिय सहमतिको द्योतक भए जस्तो चट्टानी अडानमा छन् । यो अडानले आफूलाई क्षति वा लाभ के हुन्छ भन्नेमा माओवादी केन्द्र पनि सशंकित छ ।
उनीहरूको अडानले आजित भएको एमाले राष्ट्रपति आफूले नपाए समीकरण फेरबदल हुनसक्ने चेतावनी दिँदै आएको छ । एमालेका नेता विशाल भट्टराईले केही दिनअघि प्राइम टेलिभिजनको एक अन्तर्वार्ता कार्यक्रममा बोल्दै माओवादी केन्द्रले एमालेलाई राष्ट्रपतिमा समर्थन गर्न सकेन भने सत्ता समीकरण बदलीन सक्ने संकेत गरेका छन् ।
उनले भने, ‘गत पुष १० मा भएको सहमति अनुसार एमालेले राष्ट्रपति पाउँछ । त्यसमा माओवादी केन्द्रले समर्थन गर्छ । यदि उसले एमालेलाई समर्थन गर्नुको साटो अन्य कुनै दललाई गर्छ भने प्रधानमन्त्री पद गुमाउँछ ।’
यता माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति बेगर कसैलाई समर्थन नगर्ने अडान राख्दै आएको छ । उसले राष्ट्रिय सहमति भने पनि सत्ता साझेदार दल र प्रतिपक्षी दलहरूबीच सहमति जुटाएको देखिँदैनन् ।
किनकि दलहरू सहमति बिनै आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार उठाउने पक्षमा छन् । पूर्वसहमति अनुसार एमालेले आफ्नो उम्मेदवार खडा गर्नेछ भने राष्ट्रिय सहमति जुटाउने नाउमा प्रतिपक्षी दल कांग्रेसले उम्मेदवार उठाउने छ ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति होला भन्ने प्रश्नमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दलहरूबीच राष्ट्रिय सहमति भन्नू नै सत्ता समीकरणमा उलटपुलट आउनु हो । विगतमा ओलीको हर्कतलाई प्रश्रय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको अकर्मण्यताले दलहरू सचेत छन् । त्यसबाट उनीहरूले राम्रो पाठ सिकेका छन् । यसर्थ एमालेबाट जो–सुकै भए पनि राष्ट्रपतिको नाउमा ओलीको रबरस्ट्याम्प बन्ने पक्का छ । त्यसैले एमालेलाई माओवादी केन्द्र स्वयंले राष्ट्रपति दिन मानेको छैन ।’
यदि एमालेले राष्ट्रपति पाएन भने सत्ता समीकरण के हुन्छ भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘एमालेले राष्ट्रपति नपाएको केही घण्टा नबित्दै उसले समीकरण फेरबदल गर्छ । नभए समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई राजीनामा गर्न लगाउँछ । त्यसपछि उसले प्रतिपक्षीको भूमिका निर्वाह गर्छ । तर, माओवादी केन्द्र सत्ताभन्दा बाहिर रहँदैन । उसलाई कांग्रेस र अन्य केही साना दलले समर्थन गर्छन् । र, नयाँ वाम–लोकतान्त्रिक सत्ता समीकरण बन्छ ।’