• बैशाख २८ २०८३, सोमबार

पुष १० को सहमतिबाट प्रधानमन्त्री पछि हटेपछि एमाले भित्रैबाट राष्ट्रपतिमा विकल्पको खोजी

फाल्गुन ६ २०७९, शनिबार

काठमाडौं । संसद्को गति चलायमान राख्ने सभामुख र उपसभामुख निर्वाचित भएको एक महिना भएसँगै राष्ट्रपतिको बहस सतहमा आएको छ । राष्ट्रपतिको निर्वाचन हुन उप्रान्त १९ दिन बाँकी रहँदा दलहरूको आपसी भेटवार्ता र सघन छलफल भईरहेको छ ।

राष्ट्रपति पदका लागि यहीँ फागुन २५ मा निर्वाचन हुँदैछ । उक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मननोयनको तयारीमा सत्ता साझेदार दल नेकपा (एमाले), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तयारी गरिरहेका छन् ।
एमाले–माओवादी केन्द्र लगायतका अन्य साना दलहरूको पुष १० मा सत्ता गठबन्धन भएको छ । गठबन्धन हुँदा प्रधानमन्त्री माओवादी केन्द्र, राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । सभामुखमा एमालेका देवराज घिमिरेलाई निर्वाचित गरियो भने पूर्वसहमति अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभामुख इन्दिरा राना निर्वाचित भईन् ।

सभामुख र उपसभामुखमा प्रतिपक्षी दल कांग्रेसले पनि उम्मेदवार उठाएको थियो । तर, दुई पदमा पूर्वसहमति अनुसार माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई मतदान गरेन ।

यसैगरी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको चार वर्षे कार्यकाल गत वर्षमै समाप्त भईसकेको थियो । उक्त रिक्त पदमा गत माघ २३ मा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

तथापि उपाध्यक्ष पदमा भने कांग्रेसले उम्मेदवार नै उठाएन । उसले माओवादी केन्द्रको उम्मेदवारलाई मौन समर्थन गर्यो । अन्य प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चा (राजमो)ले उम्मेदवारी नै दिएनन् । उनीहरूले पनि उसलाई नै समर्थन गरे । त्यसपछि अर्याल निर्विरोध निर्वाचित भइन् ।

त्यसयता राष्ट्रपतिको बहस सतहमा आएको छ भने दलका नेताहरू आपसी छलफल र निर्णयमा जुटेका छन् । प्रतिपक्षी दल कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अगाडि सार्ने देखिन्छ । पौडेल लगायतका कांग्रेसभित्र अन्य नेता पनि आकांक्षी रहेको कांग्रेसभित्रै चर्चा छ । तर, हिजोआज नेता पौडेलको नाम भने चर्चामा छ ।

अर्को प्रतिपक्षी दल लोसपाले पनि राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई उठाउँनका लागि छलफल अगाडि बढाएको छ । उसले दुई साता पहिलेदेखि राष्ट्रपतिमा ठाकुरलाई अगाडि सार्न छलफल गरिरहेको छ ।

ठाकुरलाई राष्ट्रपतिमा सहमति जुटाउन सत्ता साझेदार दल र प्रतिपक्षी दलहरूसँगै पनि संवाद अगाडि बढाउने लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए । उनले गोल खबरसँग संक्षिप्त संवाद गर्दै भने, ‘हामी राष्ट्रपति पदका लागि अध्यक्ष ठाकुरलाई सहमति गर्न दलहरूसँग आग्रह गर्छौँ । लोकतन्त्र, संविधानको रक्षा र गणतन्त्र संस्थागत गर्न लोसपा हरहमेशा तयार छ । हामीबाट संविधान, कानुनको कुनै बर्खिलाप हुँदैन । यसर्थ ठाकुरलाई दलहरूले समर्थन गर्नेमा हामी विश्वस्त छौँ ।’

राष्ट्रपतिमा सत्ता साझेदार दलभित्रै असमझदारी बढेपछि कांग्रेसले छलफललाई तीव्रता दिएको छ । त्यस्तै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा उम्मेदवारी दिन सक्ने सम्मानित नेता झलनाथ खनालले संकेत गरेका छन् ।

खनालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै सात्ता साझेदार दलभित्रै असमझदारी बढेकोले राष्ट्रपतिमा आफ्नो पार्टीले पनि उम्मेदावारी दिन सक्ने बताए । तद्यपि एकीकृत समाजवादीले राष्ट्रपतिमा उम्मेदवारी उठाउने या नउठाउने भन्नेमा पर्ख र हेरको नीति लिएको छ ।

एमाले भित्रैबाट राष्ट्रपतिमा विकल्पको खोजी

गत पुषमा १० मा सत्ता साझेदार दलको सहमतिमा बेगर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा आनाकानी गरेपछि एमाले त्रसित बनेको छ । राष्ट्रिय सहमति बिना राष्ट्रपतिमा कसैलाई समर्थन नगर्ने प्रधानमन्त्रीको अडानले एमाले त्रसित बनेको हो ।

गठबन्धन भएयता ओली–प्रचण्डको झन्डै २८ पटकभन्दा बढी भेटवार्ता गरेको ओलीको सचिवालय बताउँछ । उनीहरू राष्ट्रपतिको सहमति, सरकार गठनबारे छलफल र समसामयिक राजनीतिक विषयमा भेटवार्ता गर्दै आएका छन् ।

तथापि राष्ट्रपतिको सहमतिबारे हालसम्म पनि उनीहरूबीच सहमति जुट्न नसकेको स्रोतको दाबी छ । ओलीले पूर्वसहमति कार्यान्वयन गर्नैपर्ने प्रचण्डलाई दबाब दिएका छन् भने प्रचण्डले राष्ट्रिय सहमतिको रडान छोडेकै छैनन् ।

ओलीले पूर्वसहमति अनुसार बिनाशर्त एमालेलाई राष्ट्रपतिमा सहमति गर्नैपर्ने माओवादी केन्द्रलाई दबाब दिएका छन् । तर, यसअघि ओलीले चालेका असंवैधानिक कदम पुनः दोहोरिने भयले माओवादी केन्द्रले राष्ट्रपतिमा एमालेलाई कुनै हालतमा समर्थन नगर्ने चट्टानी अडान राखेको छ ।

बरू उसले राष्ट्रिय सहमति भएमा जुनसुकै दललाई पनि समर्थन गर्न सक्ने बताएको छ । तर, राष्ट्रिय सहमति बेगर राष्ट्रपतिमा कसैलाई सहयोग नगर्ने माओवादी केन्द्रको रणनीति छ ।

उसको यो रणनीति बुझेपछि राष्ट्रपतिमा एमाले विकल्पको खोजीमा लागेको छ । यद्यपि उसले राष्ट्रपतिमा माओवादी केन्द्रले एमालेलाई समर्थन नगरे गठबन्धन तोडिन सक्ने चेतावनी दिँदै आएको छ । तर, प्रधानमन्त्री एमालेको चेतावनीसँग एकरक्ति डगमगाएका छैनन् ।

प्रचण्डको त्यो आत्मविश्वास देखेर एमाले असिनपसिन भएको छ । उसले हालसम्म कुनै कदम अगाडि बढाउन पनि सकेको छैन । बरू उसले पार्टीभित्रैबाट राष्ट्रपतिमा कांग्रेस बाहेक अन्य दलहरूको विक्लप खोजिरहेको छ ।

उसले राष्ट्रपतिको थ्रुबाट भए पनि अन्य दल खोजिरहेको देखिन्छ । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अध्यक्ष नाराणमान बिजुक्छेलाई प्रत्यक्ष भेटेकी थिइन् । उनले बिजुक्छेलाई भेटेसँगै एमालेले नेमकिपाबाट राष्ट्रपति मनोनयन गराउने त होइन भन्ने व्यापक चर्चा छ ।

बिजुक्छे राष्ट्रपतिको चर्चामा आउनुको मुख्य कारक राष्ट्रपति हुन् । उनले केही दिनअघि चाँगुनारायण मन्दिर दर्शन गरेर भक्तपुरस्थित बिजुक्छे निवास पुगेकी थिइन् । त्यसयता राष्ट्रपतिमा बिजुक्छेको चर्चा जुलिएको हो । उनले त्यहाँ आधा घण्टा छलफल गरेको स्रोत बताउँछ ।

हुन त एमालेमा नेता सुवास नेम्वाङको राष्ट्रपतिमा उम्मेदवार बनाउने हल्ला पनि छ । तर, एमालेबाट हालसम्म राष्ट्रपतिको उम्मेदवार कसलाई उठाउने भन्ने विषमा कुनै छलफल नगरेको एमाले बताउँछ ।