• जेष्ठ ९ २०८३, शनिबार

नेपाल जेसीजको लोम लिडर्स एकेडेमी २०२३ शुरु

फाल्गुन ६ २०७९, शनिबार

इच्छा गुरुङ, काठमाडौं नेपाल जेसीजको वर्ष २०२३ को प्रकरण  “As 1: Family, Team, Goal” अभियानलाई सार्थक, सफल, उत्कृष्ट एवम् उपलब्धिमूलक बनाउन लागि नेपाल जेसीजको आयोजनामा  2023 JCI Nepal LOM (Local Organization Members) Leaders’ Academy को शुभारम्भ भएको छ ।

एकडेमीको फागुन ५ गते शुक्रबार काठमाडौंस्थित अलोफ्ट होटलमा एक समारोहकाबिच प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रकाशमान सिहंले औपचारिक उद्घाटन गरे ।

कार्यक्रममा कांग्रेस नेता सिंहले नेपाल जेसीजको विधिको शासन र बन्धुत्वको भावना र एक वर्ष एक पद एक कार्यकाल प्रजातान्त्रिक प्रणालीको सुन्दर पक्ष रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर विकास मानन्धरले युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजमा आवद्ध हजारौं युवाहरूलाई तालिमको माध्यमबाट निखार्ने काममा नेपाल जेसीज लाग्ने बताए । उनले प्रविधिको माध्यमबाट विभिन्न एप्स र एमआईएस प्रणालीमार्फत् नेपाल जेसीजका हरेक गतिविधि सबै समक्ष पुर्याउने जानकारी समेत गराए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्वअध्यक्ष तथा लोम लिडर एकेडेमीका प्रमुख प्रशिक्षक सुशीलबाबु श्रेष्ठले देशका हरेक नागरिकहरूलाई तालिमका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन सके मात्र देशको रूपान्तरण सम्भव हने बताए ।

फागुन ५ र ६ गते सञ्चालन हुने तालिममा नेपाल जेसीज अन्तरगत देश भरि रहेका १७८ शाखाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष्यको सहभागिता रहेको छ । स्थानीय शाखाहरुको वार्षिक कार्यक्रमहरुले समाजमा दीर्घकालिन सकारात्मक प्रभाव पार्नका लागि स्थानीय शाखाका अध्यक्ष, महासचिव र कोषाध्यक्षहरुको क्षमता अभिवृद्घिका साथै वार्षिक कार्यक्रमको रुपरेखाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दै युवाहरुको अन्तरनिहीत प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्य सहित सकारात्मक प्रभाव राख्न सफल हुने विश्वास नेपाल जेसीजले लिएको छ ।

एकेडेमीका राष्ट्रिय प्रमुख तालिम आयुक्त नेपाल जेसीज २०१४ का अध्यक्ष जेसीआई सिनेटर सुशिलबाबु श्रेष्ठ छन् । त्यस्तै एकेडेमी संयोजकमा शिवराज घिमिरे र वर्ष २०२३ का तालिम आयुक्त जेसी सुनिल तिमल्सिना लगायतले  2023 JCI Nepal LOM Leaders’ Academy  लाई नेतृत्व गरिरहेका छन् । कार्यक्रमको सञ्चालन नेपाल जेसीज २०२३ का राष्ट्रिय महासचिव जेसी अमिस ढकालले गरेका थिए ।

विश्वव्यापी रुपमा क्रृयाशिल यस संस्था नेपालमा सन् १९६४ मा स्थापना भएको हो । डा.भेषबहादुर थापा नेपाल जेसीजका संस्थापक अध्यक्ष हुन् । नेपाल जेसीज ‘शासन व्यक्तिको होइन विधिको हुनपर्दछ ’ भन्ने सत्य वचनलाई आत्मसाथ गर्दै एक आपसमा बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै १८ देखि ४० वर्ष सम्मका युवाहरुको नेतृत्व तथा क्षमता विकासको निम्ति कार्यरत विशुद्ध मुनाफारहित संस्था हो ।