काठमाडौं । सरकारले मजदूरको रोजीरोटी खोसिने गरी जारी गरेको नियमविरुद्ध काठमाडौंको बसपार्कमा भर्खर मात्र आन्दोलन तथा तोडफोडको घटना भएको छ ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दर्जनौंलाई पक्राउ पनि गरेको छ । यसैबीच नेकपा (बहुमत) निकट यातायात मजदुर सङ्गठनले आन्दोलनमा रहेका यातायात मजदुरहरूको सङ्घर्षमा ऐक्यबद्धता जनाएको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
सङ्घका केन्द्रीय संयोजक कालीबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यातायात मजदुरहरूसँग सम्बन्धित प्रचलित नेपाल कानुन यातायात तथा सवारी व्यवस्था ऐन २०७३ र केही प्रावधानहरू मजदुरको रोजीरोटीविरुद्ध रहेको र मजदुर हितविरोधी तहले कानुन बमोजिम भन्दै धमाधम चालक अनुमतिपत्र निलम्बन र खारेजीको अभियान चलाएसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा फागुन १ गते काठमाडौँको बालाजुस्थित गोंगबु बसपार्कमा यातायात मजदूरहरूमाथि दमन भएको, झण्डै हताहतीको परिस्थिति उत्पन्न भएको र मजदूर हितविरोधी पक्षको मिलोमतोमा मजदुरहरूले न्यायपूर्ण रूपमा उठाएका जायज माग र स्वाभाविक आन्दोलनलाई अन्यथा अर्थ लगाउने मनसायका साथ विवादमा जोडिएको उल्लेख छ ।
सङ्गठनले विज्ञप्तिमार्फत् घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको जनाइएको छ । सङ्गठनले न्यायप्रेमी यातायात मजदूरहरूको न्यायिक प्रदर्शनभित्र सुनियोजित घुसपैठ गरी दलालहरूले यसलाई बदनाम गर्न खोजेको भए पनि सङ्गठनले मजदुरहरूका जायज माग पूरा गर्न सरकारसँग हार्दिक आग्रह रहेको छ ।