• जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडौंमा आन्दोलनरत मजदूरलाई सरकारले वार्तामा बोलायो

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । सरकारले आन्दोनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायता मजदुरको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनरत मजदुरलाई वार्तामा बोलाएका हुन् ।

मन्त्री श्रेष्ठले मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत् समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत मजदुरहरुलाई आग्रह गरिएको बताए ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ । विभागका महानिर्देशक गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

सोमबार नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन चर्काएका थिए ।