काठमाडौं । एमाले नेता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर नागरिक बचाउ अभियान सुरू गरेका छन् । काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो प्रसाईंले यो अभियान सुरु गरेका हुन् ।
अभियानको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे । कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन् । कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किए । उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभित्ता पुगेका थिए ।
प्रसाईंले कार्यक्रममा सहभागी हुन पूर्वराजा शाहसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायतलाई निम्ता दिएका थिए ।
झापामै रहेका एमाले अध्यक्ष ओली उक्त कार्यक्रममा सहभागी भएनन् । उनी आदिवासी जनजाति साँस्कृतिक महोत्सवको उद्घाटन गरेर भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका छन् । अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ । काँकडभित्तमा प्रसाईंको उक्त अभियान कार्यक्रम हेर्न मानिसहरू पुगेका थिए ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका जिल्लाबाट मानिसहरू कार्यक्रम हेर्न आएका थिए । प्रसाईंले यो अभियानलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियान भनेका छन् ।
प्रसाईंले मेचीदेखि महाकालीसम्म अभियान अवधिभर दुई लाख जनता कार्यक्रममा सहभागी गराइने दाबी गरेका छन् । प्रसाईं मेडिकल व्यवसायी हुन् ।