• बैशाख २८ २०८३, सोमबार

तराईमा मिटर ब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको चर्को आतंक छ : नेत्रविक्रम चन्द

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको उपलक्ष्यमा भिडियो सन्देश दिँदै विप्लवले शासकहरू कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताए । विप्लवले राजनीतिक संकट गहिरिँदै जाँदा साम्राज्यवादी र नवउपवेशिक बढ्दै गएको बताए ।

‘देशमा आर्थिक संकट बढ्दैछ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान र एकसरो लुगा लगाउन र बस्ने बासको निम्ति लाखौँ लाख जनता तड्पी रहेका छन् ।’ विप्लवले भने, ‘तपाईमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’ आर्थिक संकट गहिरिँदै जाँदा उद्योगी व्यापारी समेत पलायन हुने अवस्थामा पुगेको विप्लवले बताए ।

‘राज्य सञ्चालकहरू कुर्सीमा लिप्त छन् । संसदवादी दलहरु कुर्सीको झगडामा व्यस्त छन् । नेपाली जनताको समस्याप्रति बेप्रवाह छन् । यो समस्यालाई अपव्याख्या गरेर उल्टोतिर प्रचारगरी रहेका छन्’ उनले भने, ‘आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’ विप्लवले देशमा बेरोजगारी बढ्दै जाँदा कलेज र विश्वविद्यालयका युवाहरू विदेश पलाउन हुने गरेको बताए ।