• बैशाख २८ २०८३, सोमबार

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष (धार)लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन् ।

२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताएका हुन् ।

“यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ”, उनले भने, “सबैले आआफ्नो ढङ्गले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि गरेका छन् ।”

आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

“त्यसले माओवादी नेता कार्यकर्तामा मात्र होइन आम नेपाली जनतालाई पनि फेरि एक पटक नयाँ ढङ्गले उत्साहित गर्नेछ, नयाँ ढङ्गले सङ्गठित गर्ने काम हुनेछ”, प्रधानमन्त्री दाहालले भने ।

अध्यक्ष दाहालले माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको बताए ।

“भोलिको नेपालको नेतृत्व लिन विकल्पका रुपमा छिट्टै एउटा समाजवादी मोर्चा अगाडि आउनेछ”, उनले भने, “यसका लागि तपाईंहरुले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने छ ।” -रासस