• बैशाख २८ २०८३, सोमबार

विप्लव नेतृत्वको नेकपाले गर्यो संघर्षका कार्यक्रमको घोषणा

माघ २८ २०७९, शनिबार

काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) रुपन्देहीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेकपा रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई लिएर संघर्ष गर्ने भएको हो ।

पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुँजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरी कारबाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सीले जानकारी दिए ।

नेता शरदले स्थानीय स्तरमा भएका समस्या भूमिहीन तथा सुकुम्वासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापन लगायतका समस्या, ज्योतिनगर पहिरो पीडितका समस्या, स्थानीय तहमा विकास निर्माणदेखि संघ संस्थामा देखिएका भ्रष्टाचार र विसङ्गतिका समस्याहरूमा आफ्नो पार्टीले ठोस् कार्यक्रम बनाएर संघर्ष गर्ने बताए ।

पार्टीका जिल्ला सेक्रेटरी वीरेन्द्र सीले फागुन १ गते बुटवलमा जनयुद्धका उपलब्धि र समस्या विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरी मनाउने, जनसम्बन्ध बिस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने बताए ।