काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा एकैदिन ६ जनाको ज्यान गएको छ । सडक सवारी दुर्घटना तथा विभिन्न घटनामा परी उनीहरूको ज्यान गएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । घटनामा संलग्न ४४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा, सिम्रौनगढ नगरपालिका-५ कोल्डस्टोर टोलस्थित सडकमा ना.१ प ६८८८ नम्बरको मोटरसाइकल र ना.१८ प ५१४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ना.१ प ६८८८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ६५ वर्षीय महाबिर साह कानुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल सिम्रौनगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जंङ्गलस्थित सडकमा ना.१६ प १७२७ नम्बरको मोटरसाइकल र ना.२१ प ७२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ना.२१ प ७२५ नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ वस्ने ४४ वर्षीय राजेश बस्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ना.१६ प १७२७ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तेह्रथुम, म्याङलुङ नगरपालिका-६ सुर्के चोकमा को.१ त ५५३८ नम्बरको ट्याक्टर सोही ठाउँ बस्ने बिशाल लिम्बुको भान्छा घर माथि पल्टिएर बिहीबार राति दुर्घटना हुँदा भान्छा घरभित्र आगो ताप्दै गरेकी सोही ठाउँ बस्ने ७६ वर्षीया हर्कमोती लिम्बुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्याक्टरले पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिएपछि अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बागलुङ, गलकोट नगरपालिका-११ भालुपाईलेस्थित दरमखोला हाईड्रोपावरमा काम गर्ने कामदार रोल्पा त्रिवेणी गाउँपालिका-३ लिङबुङ घर भएका ४० वर्षीय मेख बहादुर बुढाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको ईमरजेन्सी पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बाँके, जानकी गाउँपालिका-५ गुरुवा गाउँ बस्ने ४२ वर्षीय देसराज कुर्मि सोही गाउँपालिका रामगाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ बस्ने ३९ वर्षीय छत्र बहादुर थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका-१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका-५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय गोपाल चौधरी समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली टिकापुर नगरपालिका-१ साथी अस्पताल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका-१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् ।
ईलाका प्रहरी कार्यालय टिकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३ -०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१-१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो ।
यस्तै धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२-००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगर सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित सोही नगरपालिका-१२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, टोखा नगरपालिका-३ बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ५७ वर्षीय ध्रुव बहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ शुन्दरहरैचा नगरपालिका-७ घर भएका ३२ वर्षीय राम बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा राम बहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।
उनले खड्कालाई कुटपिर गरी हत्या गर्नुको साथै मृतको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको छ ।
शैक्षिक प्रमाणपत्र तथा बिभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो । उनी उपर लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने ) कसूरमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रूपमा चोरी शिकारी, ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गत पुस १९ गते झापा भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँके कोहलपुर नगरपालिका-११ बस्ने ४१ वर्षीया जमुना कुमारी शर्मालाई संरक्षित वन्यजन्तु गैंडाको खाग ५ सय २२ ग्राम सहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली घोडाघोडी नगरपालिका-१० पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरी, कैलाली मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, भोजपुर अरुण गाउँपालिका-२ घर भएका ४५ वर्षीय डम्बर कुमार आले मगर, गोरखा पालुङटार नगरपालिका-२ ठाँटीपोखरी बस्ने ४७ वर्षीय दान बहादुर राना, स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ४६ वर्षीय निर्मल शाही, स्याङजा वालिङ नगरपालिका-८ जैसीपधेँराका ३८ वर्षीया हरिमाया राना, चितवन भरतपुर महानगरपालिका-८ की ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ, चितवन कालिका नगरपालिका-९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोम बहादुर चेपाङ तथा ३० वर्षीय राधाकृष्ण चेपाङ, चितवन इच्छाकामना गाउँपालिका-७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही गाउँपालिका-७ सुन्दरबस्तीका ३९ वर्षीय बिरमान वाइबा र चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइत बहादुर तामाङ समेत गरी १३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।
झापा, चोरी मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-८ बस्ने २५ वर्षीय विजय भन्ने रोबिन राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७८ कात्तिक १४ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
काठमाडौं, अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त विदेशी मुद्रा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ ।
काठमाडौं, टोखा नगरपालिका-७ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल टोखा नगरपालिका-७ बस्ने ३२ वर्षीया जिना मगर समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार रुपैयाँ र २ बुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।