काठमाडौँ। भारतका विदेश सचिव विनय मोहन क्वात्रा नेपालको भ्रमणमा आउँदै छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही फेब्रुअरी १३ का दिन नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
क्वात्राको भ्रमणमा नेपाल र भारतका परराष्ट्र सचिवहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो भ्रमण दुई मित्रवत छिमेकीहरूबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता रहेको र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर हुने मन्त्रालयले जनाएको छ ।
नेपालमा नयाँ सरकार गठन भएर नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेको अवस्थामा भारतीय उच्चतहबा हुन लागेको यस भ्रमणलाई राजनीतिक महत्वका हिसाबले समेत हेरिएको छ । विदेश सचिव क्वात्रा फेब्रुअरी १४ मा नयाँदिल्ली फर्कनेछन् ।