काठमाडौं । संघीय संसदमा भर्चुअल बैठकले कानुनी मान्यता पाउने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ मा राख्ने गरी निर्णय लिएका छन् ।
समितिको निर्णय अनुसार भर्चुअल बैठकसम्बन्धी व्यवस्थाका लागि छुट्टै व्यवस्था गरिनेछ । जहाँ कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णयका आधारमा संसद र संसदीय समितिको बैठक राख्न सकिने भनी लेखिनेछ ।
नोवेल कोरोना भाइरसको महामारीका बेला संसद र संसदीय समिति प्रभावकारी हुन सकेका थिएनन् । त्यसका लागि भर्चुअल बैठकलाई मान्यता दिनुपर्ने आवाज उठेको थियो ।
कोराना भाइरसको महामारीका बेला परेको समस्यालाई ख्याल गरेर नियमावली मस्यौदा समितिले यसपटक नियमावलीमै भर्चुअल बैठकलाई कानुनी मान्यता दिने गरी प्रतिनिधिसभा नियमावलीमा राख्ने गरी सहमति जुटाएको हो ।