काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीको टुंगो लागेको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजन लिगका सात तथा आयोजकको एक गरि आठ टोली सहभागिता जनाउने छन् । प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब तथा आयोजकको केपी ओली फुटबल क्लबले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार रुपैयाँ दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार प्रदान गरिनेछ ।