काठमाडौं । काठमाडौंको रातोपुलमा एक जना पुरूषको हत्या भएको छ । मंगलबार बिहान रातोपुलमा एक जना पुरूषको शव फेला परेको हो । मृतक काठमाडौंको कपन बस्ने ध्रुव खड्का छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यसमा अनुसन्धान अघि बढाएको थियो । शव फेला परेपछि दुबै कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी स्रोतका अनुसार शव फेला परे पनि मृतकको पहिचान खुलेको थिएन । उनको पहिचान खोल्ने प्रयास गरिरहँदा प्रहरीले सुराकी पाएको स्रोतले जानकारी दियो ।
‘शव फेला परेपछि अनुसन्धान गरिरहेका बेलामा हामीले सुराक पायौं,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘त्यसपछि हामीले आरोपितलाई पक्राउ गर्यौं ।’
पक्राउ पर्ने व्यक्ति लागु औषध व्यापारी हुन् । राम थापा भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरिसकेपछि मात्रै मृतकको पहिचान खुलेको हो । प्रहरीका अनुसार मृतक खड्का सोमबार साँझ एक पाटीमा गएका थिए । पाटीबाट घर फर्किन लागेका खड्कालाई थापाले लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न अर्का एक प्रहरीले बताए ।
लुटपाट गर्ने नियतले रातोपुल पुर्याएर कुटपिट गरी हत्या गरेको उनले जानकारी दिए । घटनाबारे परिसर र कार्यालयले संयुक्त रूपमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ ।