• बैशाख २८ २०८३, सोमबार

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी रहेको मन्त्री शर्माको भनाई

माघ २४ २०७९, मंगलवार

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।

मंगलबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएकी हुन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन् ।

उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन् ।

मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताइन् ।

उनले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताइन् ।

मन्त्री शर्माले ५ दिनसम्म प्रतिनिधि सभा अन्तर्गतका समिति बनिसक्ने बताइन् । उनले समितिहरू निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरू पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समितिहरू निर्माण गरेर विधेयहरु पास गर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले संघीय निजामती सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताइन् । उनले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यकता सरकारले औंल्याएको बताइन् ।

मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पारिन् ।