• बैशाख २८ २०८३, सोमबार

प्रविधिको प्रयोग गरेर अर्बाैं राजश्व विदेशिनबाट राेक्नु पर्छ : सञ्चार मन्त्री शर्मा

माघ २४ २०७९, मंगलवार

काठमाडौं स सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको प्रयोगले सेवा लिन र दिन सहज र सरल हुने भएकाले यस क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताएकी छिन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघद्वारा आयोजित २८औं संस्करणको क्यान इन्फोटेकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले सेवा प्रवाहको काममा प्रविधिको प्रयोग गर्न सकेको खण्डमा सेवा सजिलो र सहज हुने बताएकी छन् ।

‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुनेगरेको अनियमितता पनि कम हुन्छ,’ मन्त्री शर्माले भनिन्,‘यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।’

उनले आजको युग सूचना प्रविधिको युग भएकाले सूचना प्रविधिको कारणले आज विश्व एउटा हत्केलामा अट्ने भएको बताइन् । जसका कारणले यसको महत्व दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।

आफू मन्त्री भएको एक महिना पुग्न लागेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रबाट महत्वपूर्ण काम गर्न सक्दा रहेछौं भन्नेबारे थप जानकार हुँदै गएको बताइन् । प्रविधिको प्रयोगले राजस्व बच्ने तथा राजस्वबाट अरबौं रकम बाहिरिने काम रोक्न ठूलो योगदान गर्ने उनको दाबी छ ।

राज्यको उच्च प्राथमिकतामा रहेर प्राविधिक जनशक्ति तयार गर्ने र यस क्षेत्रलाई अगाडि बढाउन नसकेको उनले बताइन् । थुप्रै डेटा सेन्टर र प्रविधि सेन्टर भए पनि त्यसको मुख्य नियन्त्रक हाम्रो हातमा नभएको उनले बताइन् । यसले हामीलाई असर गर्ने कुरामा दुईमत नभएको उनले बताइन् । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

नेपाल सरकारले सूचना क्षेत्रमा गर्ने लगानीको बारेमा छलफल गर्न आवश्यक रहेको पनि उनले बताइन् । मन्त्रालयको हैसियतले यस क्षेत्रमा अध्ययन गरेर अगाडि बढ्ने र कानुन संसदमा पारित गर्ने उनले बताइन् ।