• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति हामीलाई चाहिन्छ तर सरकारमा जाँदैनौं : नेता कोइराला

माघ २४ २०७९, मंगलवार

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने बताएका छन् ।
अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहामा उद्घाटन गर्दै कोइरालाले भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला । राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ । कांग्रेसकै उम्मेदवारले जित्छ ।’

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए । ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन,’ उनले भने ।

उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए । ‘हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं,’ उनले भने ।