• जेष्ठ ८ २०८३, शुक्रबार

४ थान एयर पेस्तोल, १ थान भरूवा बन्दुक र १२० राउण्ड गोलीसहित ५ जना पक्राउ

माघ २४ २०७९, मंगलवार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट चार थान एयर पेस्तोल, एक थान भरुवा बन्दुक र १२० राउण्ड गोलीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) एयर पेस्तोल, भरुवा बन्दुक, गोलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित भारत घर भएका २० वर्षीय ओम साहसहित ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई फलाम र काठले बनेको एयरगन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्ड सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेबाट भरूवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ६० वर्षीय फुल बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।