काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यम सम्बन्धिको आज दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
पत्रकार सम्मेलनमा लामिछानेले सञ्चारमाध्यमहरुप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले आपत्ति जनाएको हो । महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत् यस्तो आपत्ति जनाएका छन् । विज्ञप्तिमा उपप्रधान र गृहमन्त्री समेत भइसकेका लामिछानेले संयमता गुमाएर संचारमाध्यमप्रति त्यस्ता खाले अभिव्यक्ति दिनुलाई संचारमाध्यममाथिको प्रहार भएको जनाइएको छ ।
आजको पत्रकार सम्मेलनमा लामिछानेले नेपालका केही संचारमाध्यमहरुको नामै लिएर तिनलाई आफ्ना विरुद्ध बोलेमा तिनलाई घेराऊ गर्ने धम्की दिएका थिए । रविको पार्टी आज पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरीएको छ ।
नक्कली नागरिकता प्रयोग गरेर चुनाव लडेको आरोप लागेपछि रविले ३ दिनअघि गृहमन्त्री पदबाट राजनीनामा दिएका थिए । सरकारबाट बाहिरीनु र आफ्नो पार्टीका मन्त्रीहरुले राजनीनामा दिनुअघि गरिएको पत्रकार सम्मेलनमा रविले यस्तो धम्कि दिएका हुन् ।