• बैशाख २८ २०८३, सोमबार

आफ्नो पार्टीले राष्ट्रपति पाउने कांग्रेस महामन्त्रीको दावी

माघ २२ २०७९, आईतवार

काठमाडौं । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताए ।

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढङ्गले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे ।

महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे ।  ओली काँग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरि त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत गर्याे भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली काँग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यसबेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुहुन्थ्यो । नेपाली काँग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली काँग्रेसले अगाडि सारेको उम्मेदवार रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हाली राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो सांसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौँ भन्ने सोचिदिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दा चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने–काँग्रेस फोवियाबाट मुक्त भइदिनुस् ।’