काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ ।
ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकारी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।
‘पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुन नगरियोस्’ उनले भने । ओलीले भने खतिवडामाथि नै ब्यंग्य गरे । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर सदन अवरुद्ध गरेको भन्दै ओलीले भने, ‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।’