• आश्विन १४ २०८१, सोमबार

नेपाल मगर संघ धादिङ-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा महेश राना चयन

माघ २२ २०७९, आईतवार

काठमाडौं । नेपाल मगर संघको धादिङ-काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गङ्गाबहादुर थापामगरको प्रमुख आतिथ्य र धादिङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष भुवन थापामगरको अध्यक्षतामा कलंकीस्थित जनपथ माध्यमिक विद्ययालयमा शनिबार अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले महेश रानामगरको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यक्रमका प्रमख अतिथि गङ्गाबहादुर थापामगरले मगरात भूमि सहितको समृद्ध मगर समाज निर्माणमा नेपाल मगर संघ लागिपरेको बताए । उनले आफूहरु मगरात सभ्यताको आधारहरुलाई पहिचान गर्दै लिपिवद्द गरेर एतिहासिक दस्तावेज तयार गर्ने काममा जुटिरहेको बताए ।

साथै उनले सामाजिक, आर्थिक र राजनैतिक रुपले अघि बढेमात्रै मगर समाज समृद्ध हुने भएकोले मगर जातिका मुर्त र अमुर्त संस्कृतिहरु, भाषा र साहित्यहरुको संरक्षण, सम्बद्र्धन र पुस्तान्तरणमा जोड दिनु पर्ने बताए । एक सन्दर्भमा थापाले आर्थिक सम्वृद्धिको लागि विभिन्न पेशा र व्यवसायहरुमा लागेर मगर समुदाय र देशको विकासमा टेवा पुर्याउनुका साथै राजनैतिक परिवेश बुझेर कुशल राजनीतिज्ञ बनेर मगर र राष्ट्रकै विकासमा मगरहरु एकवद्दताका साथ अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

साथै उनले मगर जातिको थर र उपथरहरु सूचीकरण गर्ने, मगर जातिको संस्कृतिलाई राष्ट्रियकरण गर्ने, मगर जातिको संस्कृतिहरुलाई राष्ट्रिय मान्यता दिलाउन र सूचीकरण गराउन संस्कृति मन्त्रालयमा सूचीकृत गरि सकिएको भन्दै छिट्टै संस्कृति सूचीकरण सम्बन्धि कार्यशाला गोष्ठी गरिने जानकारी गराए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु, पूर्वसदस्य, अतिथिहरु र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरियो । सोही अवसरमा धादिङका पूर्वजिल्ला सदस्य मोहन दर्लामीमगरलाई नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिको सक्रियतामा रु ४० हजार आर्थिक सहयोग गरेको जानकारी गराइयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका लेखा समिति संयोजक जीवन थापामगर, केन्द्रिय सदस्य मिलन मगर, सम्पर्क समन्वय केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष लेखबहादुर रेग्मीमगर, उपाध्यक्ष कृष्ण आलेमगर, अमला थापामगर, मगर चलिचत्रकर्मी भीम रानामगर, सम्पर्क समन्वय केन्द्रिय समितिका प्रदेश १ का सचिव हरि आले, भोजपुर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष लेखबहादुर थापामगर र जनपथ माविका प्रधानध्यपक जीतबहादुर लामिछानेमगर सहितको उपस्थिति रहेको थियो ।