• बैशाख २८ २०८३, सोमबार

नेकपा एकीकृत समाजवादीको निष्कर्ष : ‘नो नट अगेन’ अभियानका कारण हाम्रो मत घट्यो

माघ २१ २०७९, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावका बेला चलेको ‘नो, नट अगेन’ अभियानको असर पार्टी मतमा परेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा ‘नो, नट अगेन’ भनेर चुनावमा नकारात्मक प्रचार गरिएको उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोटासमेत देखाएर त्यस्तो प्रचार गरिएको थियो । साथै पुरानाले गरेनन्, अब हामी गर्छौं भन्ने प्रचार पनि त्यत्तिकै ब्यापकरुपमा गरिएको थियो’ प्रतिवेदनमा लेखिएको छ, ‘त्यसप्रकारको नकारात्मक प्रचारले मतदातामा प्रभाव पर्यो ।’ मतदातामा पनि पुराना दलहरुप्रति विकर्षण र नयाँ दलप्रति आकर्षण देखिएको निष्कर्ष अध्यक्ष नेपालले प्रस्तुत गरेका छन् ।

‘हाम्रो पार्टी विद्रोहबाट बनेको भएता पनि जनताले यसलाई नयाँ पार्टी होइन, पुरानै पार्टीको रुपमा लिए’, प्रतिवेदनमा लेखिएको छ ।
पुराना पार्टीहरुको मत घटेकाले परम्परागत दलहरु रुपान्तरण हुनुपर्ने शिक्षा यो चुनावबाट मिलेको अध्यक्ष नेपालले निष्कर्ष निकालेका छन् । ‘पुराना दलहरु रुपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरुप्रति विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो’, प्रतिवेदनमा लेखिएको छ ।

गत चुनावमा २५ लाख ६० हजार नयाँ मतदाता थिए । ‘विदेशमा रहेका युवाहरुले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए । उनीहरुले हामीलाई विश्वास गरेनन्’, प्रतिवेदनमा अध्यक्ष नेपालले लेखेका छन् । एकीकृत समाजवादीले अपेक्षित मत नपाउनुको १६ कारण प्रतिवेदनमा समावेश छ ।