काठमाडौं । सत्तारूढ एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकता जस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए ।
नेता रावलले भने, ‘आज मन्त्रीहरू हेरौं त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री, जसको निजी स्कुल एकदम महंगो छ, ऊ शिक्षामन्त्री, जसलाई नागरिकता जस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ, निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय, गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान, के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदलीय व्यवस्था ल्यायौं, गणतन्त्र ल्यायौं, यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए ।’
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगानाहरूको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर समेत गरे । उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।