• बैशाख २८ २०८३, सोमबार

रविको नागरिकता र पासपोर्ट प्रकरणमा साना दलहरुको ‘वेट एण्ड सी’

माघ २१ २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अदालतबाट रवि लामिछानेको नागरिकताको विषयमा फैसलाको पूर्णपाठ नआएसम्म सो मन्त्रालय आफूसँगै राख्ने मुडमा छन् । त्यसमाथि लामिछानेले नेपाली पासपोर्टको दुरुपयोग गरेको बारेको उजुरीमाथि अनुसन्धान जारी रहेका कारण प्रधानमन्त्री दाहाल लामिछानेलाई गृह मन्त्रालयका फर्काउन अनिच्छुक देखिएका हुन् ।

उता, गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमाले भने लामिछानेलाई पुनः गृहमन्त्रीमा फर्काउन चाहन्छ । रास्वपाले प्रधानमन्त्रीलाई अल्टिमेटम दिँदै सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

यता संघीय संसदमा रहेका प्रतिपक्षी दलहरू भने सत्तारुढ दलमा देखिएको विवादबारे ‘पर्ख र हेर’ को मुडमा रहेका छन् । शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृहमन्त्रीको लफडाबारे अहिले नै बोल्ने बेला नभएको बताए । उनले उनले भने, ‘यसबारे बोल्न धेरै जरुरी छैन । हामीले हेर्ने हो । गर्नेले के गर्छन्, त्यो हेरौँ ।’

त्यस्तै, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्रीको बारेमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको र यो विषय संसदमा पनि विषय उठेको बताए । उनले यसबारे आफूहरूले सूक्ष्म ढंगले हेरिरहेको बताए । उता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले भने गृहमन्त्रीको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिएका छन् ।