• बैशाख २८ २०८३, सोमबार

परमादेशी सरकारका कारण देशको अर्थतन्त्र डामाडोल भएको हो : केपी ओली

माघ १९ २०७९, बिहीबार

काठमडौं । एमाले अध्यक्ष केपी ओलीले अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल बनेको आरोप लगाएका छन् । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताए ।

विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पुस १० गते यताको सवा महिनामा देशको अर्थतन्त्रमा सुधार गएको दाबी पनि गरे । अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदै छ, मैले तपाईंका कुरा सुने भनेर नहुने पनि बताए ।

‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौँ । यो अत्यन्तै गम्भीर कुरा हो,’ ओलीले भने, ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो । त्यही हिसाबले देश अगाडि जाने हो भने देश बरबाद हुने अवस्था थियो । त्यसयताको सवा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरू चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।’

उनले अहिले कुराको जुहारी गर्ने अवस्था नरहेको पनि बताए । ‘कुराको जुहारीले केही हुनेवाला छैन । कुराले च्यूरा भिज्दैन । अहिलेको औद्योगिक व्यावसायिक क्षेत्रको कुरा पनि त्यही हो । सरकारको कुराले उद्योगीको च्यूरा भिज्दैन,’ ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा एसका नेता माधवकुमार नेपालले भनेको कुरा तर्फ व्यङ्ग्य गर्दै भने, ‘एकजना मान्छेले भन्थे नगदा नगदी, हाताहाती भन्ने गर्थे । त्यो उनको पदको कुरा हो । म पदको कुरा होइन । समस्या समाधानको कुरा गरिरहेको छु । अहिलेको सरकारले नगदा नगदी पुरा गर्नुपर्छ, तत्कालको तत्काल । हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि हुँदैछ । मैले तपाईंका कुरा सुने भनेर हुँदैन । कुरा सुनेर के पशुपतिलाई सुनाएको हो ? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ ।’