काठमाण्डौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म उसले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउन्जेलसम्म फेरि गृह मन्त्री हुनेबारे धैर्य गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको बताए।
‘रास्वपाले धैर्यता गर्नुपर्छ, किनभने मुद्दाको पूर्णपाठ आएको छैन, मुद्दा सकिएको पनि छैन, मन्त्रीमण्डलमा के गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै छ’, उपाध्यक्ष महराले भने, ‘सो विषयमा उनका भनाइ आएका छन्, तर त्यो भनाइले सत्ता साझेदार दलबीचमा कुनै समस्या पैदा भएको छैन ।’
सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्नेबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक अहिले बसुन्धरामा रहेको पार्टी कार्यालयमा बसिरहेको छ । रास्वपाबाट अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की छन् ।
सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवम् गृह मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने गएको पुस ११ गते उपप्रधान एवम् गृह मन्त्री बनेका थिए ।
यही माघ १५ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम लामिछानेले पुनः नागरिकता लिइसकेका छन् । नागरिकता प्रकरणमा लामिछानेले उपप्रधान एवम् गृह मन्त्री पद गुमाएपछि रास्वपाले फेरि त्यही मन्त्रालय आफूहरूलाई नै दिनुपर्ने माग गर्दै आएको छ ।