• बैशाख २८ २०८३, सोमबार

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

माघ १९ २०७९, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण कुमार चौधरी पक्राउ परेका छन्। प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको हो।

चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलायको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए। पक्राउ परेका चौधरीलाई कोहलपुरबाट धनगढी लैजान लागिएको डीआईजी पोखरेलले जानकारी दिए।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेका खुलेको थियो।

चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए।