काठमाडौं । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्न नहुने ‘बटमलाइन’ बनाएको छ । सोमबार र मंगलबार बसेको पदाधिकारी बैठक र त्यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने सुझाव आएपछि माओवादी गृह मन्त्रालय नछोड्ने बटमलाइनमा पुगेको हो ।
सामान्यतया सरकारको नेतृत्व गर्ने पार्टीले गृह, अर्थ, परराष्ट्र र कानुनजस्ता मन्त्रालय लिने परम्परा छ तर सत्ता समीकरण मिलाउँदा प्रचण्ड नेतृत्वको सरकारले तीमध्ये कुनै पनि मन्त्रालय पाएको छैन । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा समेत गृह मन्त्रालयका बारेमा छलफल भएको छ । छलफलका क्रममा अध्यक्ष ओलीले राखेको गुनासो प्रचण्डलाई सुनाएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन गर्दा लिएको उद्देश्य र यसले अघि सारेका कार्यभार पुरा गर्न पनि गृह मन्त्रालय सरकारकै नेतृत्व गर्ने दलले लिँदा काम गर्न सहज हुने धारणा राखेका थिए ।
प्रचण्डको कुरा सुनेपछि ओलीले पनि ‘त्यो त हो’ भन्ने जवाफ फर्काएका थिए । दुई नेताको कुराकानीमा लामिछानेलाई गृहको साटो अर्को कुनै मन्त्रालय दिन सकिने भन्दै एक पटक गठबन्धनको बैठक डाकेर निष्कर्षमा पुग्न सकिनेमा सहमत भएको स्रोतको भनाइ छ । ओलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा आएको सुझाव र दबाबबारे पनि ओलीलाई जानकारी गराएका थिए ।