• मंसिर ११ २०८१, मंगलवार

यसरी उछिनेको थियो रूसले अमेरिकालाई

माघ १४ २०७९, शनिबार

अहिले अमेरिकामा राष्ट्रपति जो बाइडन छन् । उनीभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । उनले त्यतिबेला रूस र चीनलाई अन्तरीक्षमा लड्न आउनका लागि चेतावनी दिंदै गर्दा रूस र चीनले एउटा ठूलो सैन्य अभ्यास गरे यो पृथ्वीमा ।

त्यो थियो भोस्टोक सैन्य अभ्यास । भोस्टोकको रूसी भाषामा पूर्वी भन्ने मात्र हुन्छ । यो सैन्य अभ्यास सन् २०१८ को सेप्टेम्बर ११ देखि १५ तारेखसम्म पाँच दिनसम्म लगातार रूसको भोस्टोकमा गरिएको थियो । यसलाई पृथ्वीमा गरिएको हालसम्मकै सबैभन्दा ठूलो र खतरनाक सैन्य अभ्यासका रूपमा लिइएको छ ।

यो सैन्य अभ्यास संयोगवस अमेरिकामा सेप्टेम्बर ११ मा ट्वीन टावर ढलेकै दिनबाट सुरू गरिएको थियो । त्यही दिन पारेर एशियास्थित विश्व महाशक्ति राष्ट्रहरू रूस र चीनले संयुक्त रूपमा गरेका सैन्य अभ्यासको विश्वभर र विशेषगरी पश्चिमा राष्ट्रहरूमा निकै टीकाटिप्पणी पनि गरिएको थियो । यो अभ्यास रूस–चीनविरोधी शक्तिहरूका लागि एक जबर्जस्त फौजी चुनौती पनि थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी तथा चिनियाँहरूको ध्यान अन्तरीक्षमा लैजान खोज्दा यही पृथ्वीमा अमेरिका विरूद्ध लड्न सक्ने ताकत र प्रविधि मौजुद छ भनेर यो चुनौती खडा गरिएको थियो, त्यो पनि व्याबहारिक प्रदर्शन नै गरेर । यसले त्यति बेलैबाट अमेरिकाले सुरू गरेको व्यापार युद्धमा आगोमा घीउ थपेको थियो ।

यसले रूस–अमेरिका बीचमा बढिरहेको तनावलाई थप तन्काउन मद्दत गरेको थियो । यसलाई तात्कालिन अमेरिका तथा तात्कालिन सोभियत रूसका बीचमा चलेको शीतयुद्धसँग निकै तुलना गरिएको पनि थियो ।

भनिएको पनि थियो कि यो सैन्य अभ्यास तात्कालीन रसियाका अति प्रभावशाली राष्ट्रपति जोसेफ स्टालिनको पालामा गरिएको सैन्य केन्द्रीकरण भन्दा पनि ठूलो र सशक्त थियो ।

यसमा केही कुराहरूले निकै महत्व राखेका थिए । पहिलो कुरा त यो आफैमा रणनीतिक महत्वको सैन्य अभ्यास थियो, जसले राजनीतिक, फौजी, प्राविधिक, क्षेत्रीय, महाद्विपीय, भौगोलिक आदि सबैको महत्व उजागर गरेको थियो ।

दोस्रो कुरा, यो सैन्य अभ्यासबाट रूस र चीनले ठूलो सैन्य ताजगी प्राप्त गरेका थिए । यो सैन्य अभ्यासको बाहनामा यी दुबै देशहरूले हालसम्म निर्माण गरिएका अस्त्र तथा शस्त्रहरूको खुल्ला प्रयोग र परीक्षण पनि गरेका थिए ।

यी अस्त्रहरूको परीक्षणपछि रूसबाट भारतले सुखोइ नामक वायुअस्त्र खरिद पनि गरिसकेको छ । यो अभ्यासले रूस–चीनलाई लडाइँको तयारीको अवस्थामा पनि राखेको छ ।

अर्को महत्वपूर्ण कुरा भनेको यो अभ्यास ठूलो स्केलमा गरिएको थियो । यो लगभग महाद्विपीय स्केलको अभयास थियो । यसको सन्देश थियो– ‘विश्वयुद्ध भए पनि हामी तयार छौं ।’ यसका साथै अब संसार एक ध्रुवीय होइन, बहुध्रुवीय रहेको छ भनने थियो ।

यो सैन्य रूपमा पनि सत्य हो भन्न खोजिएको थियो । यो अभ्यासले अमेरिका विरोधी सैन्य अलायन्स निर्माण गर्न मद्दत गरेको थियो । यसले रणनीतिक सैन्य सम्बन्धलाई बिस्तार गरेको थियो ।

संरक्षणवादी नीति लिएर अमेरिका विश्वबाट घर फर्कदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘नेटो’ अब काम नै लाग्दैन भनिरहेको बेला ‘वार्सा’को झझल्को दिने गरी यो सैन्य अभ्यास सम्पन्न भएको थियो ।

यो सैन्य अभ्यासमा तीन लाख रूसी सैनिक प्रत्यक्ष सहभागी भएका थिए । यो महासैन्य अभ्यासमा ३६ हजार आधुनिक बख्तरबन्द ट्यांकहरू, १ हजार भन्दा बढी आधुनिक लडाकु विमानहरू र रूसले भर्खरै निर्माण गरेका आधुनिक अस्त्रहरू प्रयोग गरिएको थियो । यी अस्त्रहरू प्रयोगका लागि आगामी दिनमा ‘टेस्टेड’ भइसकेका छन्, बिक्रिका लागि पनि र युद्धका लागि पनि ।

क्रेमलिनले यसलाई ‘आक्रामक र अमित्रवत’ व्यवहारको जवाफमा भनी परिभाषित गरेको थियो । यस अभ्यासमा १० लाख सैन्य शक्ति, जसमा जल, थल र वायु तीनैथरि, व्यावहारिक रूपमा नै फौजी युद्धमा सहभागी भएका थिए । चीनका तर्फबाट भने तीन हजार दुई सय सेना र ९०० विभिन्न आधुनिक हतियार तथा ३० लडाकु विमान प्रयोग भएका थिए ।

चर्चामा रहेका रूसी सैंन्य अस्त्रहरूमा सुखोइ सु–३५ फाइटर जेट, सुखोइ सु–३४ फूलब्याक फाइटर बम्बर र अत्याधुनिक ट्यांक, ब्याटल ट्यांक तथा क्रुज मिसाइल आदि थिए ।