• मंसिर १२ २०८१, बुधबार

सन्दीपलाई रिहा गर्न दिइएको आदेशमा के छ ?

पुष २८ २०७९, बिहीबार

काठमाडौं । उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले दिएको आदेशमा भनिएको छ,‘कतिपय प्रमाणहरु समेत बुझिसकिएको अवस्था छ । प्रतिवादीले परिवर्तित २६ लाई प्रतिकूल बकपत्र गर्नको लागि दबाब दिने वा प्रभाव पार्नसक्ने सम्भावना वा आशंकाको प्रसंग पनि अब असान्दर्भिक भइसकेको छ । प्रतिवादी मानसिकरुपमा तनावको अवस्थाबाट गुज्रिरहेको भनी यस इजलास समक्ष बहसको क्रममा उल्लेख गरिएको प्रसंगमा पनि यस इजलासको ध्यान गएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसूर गरेको देखिएको अवस्थामा पनि प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा थुनामा राख्नुपर्ने अनिवार्य अवस्था देखिनुपर्नेमा माथि नै विश्लेषण गरिसकिएको छ ।’

फौजदारी न्यायशास्त्रको मान्यता अनुसार अभियुक्तलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न दिनु उपयुक्त हुने अवस्था देखिएकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने आदेशमा उल्लेख छ । प्रस्तुत घटना र घटनापछिको शृङ्खलाजन्य परिस्थिति समेतलाई विचार गर्दा प्रतिवादीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा राखिरहनु उपयुक्त नदेखिएको अदालतको ठहर छ ।

त्यसैले यसअघि जिल्ला अदालतबाट भएको आदेशलाई बदर गरिएको उच्च अदालतको आदेशमा उल्लेख छ । बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो । दोहाबाट कतार एयरवेजको विमानमार्फत् काठमाडौं ओर्लिएका उनलाई पक्राउ गरिएको थियो । सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।

काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीपविरुद्ध काठमाडौंमा उजुरी परेको थियो ।

प्रहरीले प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटलका कर्मचारीको बयानलाई पनि समेटेको थियो । सन्दीपले यसअघि काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूलाई सिलसिलारुपमा फसाउन खोजिएको बताएका थिए । सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।