काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी विवादास्पद फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी २० लिगमा अनलाइन बेटिङको अभियोगमा नेपाल प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको बुलेटिनमा जनाइएअनुसार भारतको दिल्ली उत्तमनगरका ३६ वर्षे प्रतीक कुमारलाई बुधबार दिउँसो कीर्तिपुर प्रहरीले सट्टेवाजी कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको थियो ।
बुधबार फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्सबीचको खेलमा मोबाइल प्रयोग गरि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाका आधारमा कीर्तिपुर प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।