• मंसिर १२ २०८१, बुधबार

म्याच ‘फिक्सिङ’का लागि हाम्रो टिमका साथिलाई पनि प्रस्ताव आएको थियो : कप्तान ज्ञानेन्द्र मल्ल

पुष १९ २०७९, मंगलवार

काठमाडौं । नेपाल टी–२० लिगको टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको बताएका छन् ।

मंगलबार विराटनगर सुपर किंग्स विरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञानेन्द्रले आफ्नो टिमका एक खेलाडीलाई प्रस्ताव आएको खुलासा गरेका हुन् । ‘हाम्रो टिमका एक साथीलाई पनि एप्रोच गरिएको थियो । उनले तत्काल हामीलाई जानकारी गराएपछि हामीले एन्टी करप्सन युनिटलाई खबर र्गयौं,’ कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी लिगमा फिक्सिङ भएको विषयमा गरिएको प्रश्नमा ज्ञानेन्द्रले भने ।

उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने खुलाएनन् । फिक्सिङसहित अरु खराब क्रियाकलापको निगरानीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ ।

तर उनी आइसिसीको एन्टी करप्सन युनिटबाट रिटायर्ड भइसकेको पाइए पनि क्यानले आइसिसीसँगकै समन्वयमा उनलाई लिखित रुपमा नियुक्त गरेको बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगका खेलमा फिक्सिङसहितका अन्य गतिविधि भएमा एन्टी करप्सन युनिटमा खबर गर्न सकिने बताउँदै आएका छन् ।

फिक्सिङको बारेमा पटकपटक कुरा उठ्दा अध्यक्ष चन्दले एन्टी करप्सन युनिटमा जानकारी गर्न सकिने र दोषी पाए कारबाही गरिने बताएका छन् । क्यानको एन्टी करप्सन युनिटीमा खबर आएपछि युनिटले क्यानलाई जानकारी दिनुपर्छ । त्यसपछि क्यानले आइसिसीलाई खबर गर्नुपर्छ ।
यसअघि लिगको कमेन्टेटर सचिन तिमल्सेनाले पनि जारी लिगमा फिक्सिङ भएको बताउँदै आफू लिगबाट अलग भएको बताएका थिए । उनले विराटनगर टिमका कतिपय खेलाडीले स्पट फिक्सिङ गरेको दाबी गरेका थिए ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरु असन्तुष्ट छन् । टिमले पारिश्रमिक दिन ढिलाइ गरेपछि काठमाडौं र विराटनगरबीचको खेल मंगलबार ढिलो गरी सुरु भएको थियो भने खेल ९ ओभरमा झारिएर गरिएको थियो ।

‘हामीले यसअघि पनि पारिश्रमिक पाउनु पर्ने माग गरेका थियौं तर टिम व्यवस्थापन र आयोजक सम्पर्कमा नभएपछि हामीले आज क्यानसँग माग राखेका हौं,’ खेलपछि ज्ञानेन्द्रले भने,’क्यानले भोलिसम्म दिलाउने आश्वासन दिनु भएको छ ।’

विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए । साथै उनले भोलिसम्म पाउने प्रतिबद्धता प्राप्त भएको पनि बताए ।